रुपन्देही क्षेत्रको आर्थिक बिकास र लगानीका सम्भावनाका सम्वन्धमा कोरियाली राजदुतबीच छलफल

२६ कार्तिक, बुटवल । रुपन्देही क्षेत्रका उद्योगि, व्यवसायी र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्क योङ्ग सीकबीच रुपन्देही क्षेत्रको आर्थिक बिकास र लगानीका सम्भावनाका सम्वन्धमा आज बुटवलमा छलफल भएको छ ।

छलफलमा दुई देशको अहिलेको आर्थिक स्थिति बैदेशिक लगानी, प्रबिधि तथा जनशक्ति लगायतका बिषयमा खुलेर छलफल भएको थियो । छलफलका क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बुटवल तथा आसपासको क्षेत्रमा उद्योग व्यवसायको अवस्था, दुई ठुला मुलुक भारत र चिनले गरेको आर्थिक प्रगतिबाट नेपालले लिन सक्ने लाभ, नेपालमा सम्भावना भएको बैदेशिक लगानीका क्षेत्र र कोरीया सरकारको सहयोगमा स्थापना भएको कोरीया नेपाल टेक्निकल इन्ष्टिच्युट (कोइका)ले यस क्षेत्रमा पारेको सकारात्मक प्रभावका सम्वन्धमा राजदुत सीकलाई जानकारी गराए ।

अध्यक्ष हमालले कोइकाको स्तरउन्नती गरी इञ्जिनियरिगं कलेज बनाउन, मोतिपुरमा निर्माणाधिन औद्योगिक क्षेत्रको पुर्वाधार बिकास र उद्योग स्थापनामा सहयोग तथा लगानी गर्न र बुटवलमा बिजनेश इनोभेसन सेण्टर स्थापनाका लागि सहयोग गर्न आग्रह गरे । त्यस्तै संघका पुर्वअध्यक्ष नवराज श्रेष्ठले भारत र चिनका लागि समेत उपयुक्त यो क्षेत्रमा जनशक्ति, कच्चा पदार्थ तथा वजार व्यवस्थानका लागि सहज भएको बताए । उनले लुम्विनीलाई ग्लोवल पिस सीटीको रुपमा बिकास गरेर जेनेभा जस्तै शान्ति वार्ताको स्थल बनाउन सकिने बताए ।

संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले सन १९६० मा कोरीया भन्दा राम्रो प्रतिव्यक्ति आय भएको नेपाल अहिले कोरीयाले आमुल परिवर्तन गरीसक्दा नेपाल निकै पछाडी पर्नु दुखद भएको बताउदै कोरीयामा जस्तै सबै नेपालीले आर्थिक उन्नतीका लागि काम गर्नु पर्ने बताए । कार्यक्रममा राजदुत सीकले नेपालको आर्थिक गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र आसपासको क्षेत्रमा बिकासको प्रचुर संभावना रहेको उल्लेख गरे । उनले सम्भावनालाई अवसरमा रुपमा लैजानु महत्वपुर्ण भएको बताए । उनले नेपालको आर्थिक बिकासका लागि कोरीया लगायतका देशहरु लगानीका लागि आतुर भएको र लगानीमैत्री वातावरणको प्रतिक्षा गरीरहेको बताए । संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व र महासचिव दिनेश प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।