प्रसाद खप्तरीले ल्याए छमछमी नचाउने पञ्चेबाजा गीत सार्वजनिक

२८ कार्तिक, काठमाडौँ । बिगत पाँच वर्षदेखि लोक संगीतको क्षेत्रमा क्रियाशील चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार कलाकार खप्तरीको भाले बास्यो गाउँमा बोलको पञ्चेबाजा गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

सधै मौलिक सोरठी, सालैजो लगायतका गीत गाउने कलाकार खप्तरीको लामो समयको प्रतिक्षापछि पञ्चेबाजाको गीत चरी बास्यो बनपालेमा भाले बास्यो गाउँमा बोलको गीत बजारमा आएको छ । खप्तरीको लय शब्द रहेको गीतमा उनकै जीवन संगीनी सञ्जु थापा मगरले स्वरमा साथ दिएकी छिन् । गीतमा प्रयोग गरिएको मौलिक शब्द र गाउँले परिबेशमा तयार गरिएको भिडियोले गीतलाई अझ जीवन्त बनाएको छ ।

बिहेको मौषम शुरु हुँदै गर्दा आएको गीतमा गुल्मी, पाल्पा, स्याङ्जा लगायत गण्डक क्षेत्रमा प्रचलित विवाह परम्परालाई पनि झल्काउने प्रयास गरिएको छ । विवाहमा माइती पक्ष र जन्ती पक्षबीच रमाइलो गर्न कलिया सिँगार्ने, सालीले भेनाको जुत्ता लुकाइदिने अनि बेहुलाको साथी लोकन्तालाई बेहुलीपक्षाका केटीहरु अर्थात लोकन्तीले साएरी लेखेर ब्यङ्ग्य हान्ने प्रचलनलाई निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । पञ्चे बाजा पनि महिलाले बजाएका छन् भने मगर संस्कृतिमा आधारित विवाहको परिदृष्यले त्यसक्षेत्रको मौलिकता झल्काएको छ ।

कलाकार खप्तरी दम्पतीसहित चर्चित लोक तथा दोहोरी गायिका संगीता थापा मगर र प्रकाश भट्टको अभिनयले भिडियो अझ उत्कृष्ट बनाएको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । म्यूजिक भिडियो निर्माण तथा बजार ब्यवस्थापन भने साइभिजन प्रालिले गरेको छ ।

छोटो समयमा चर्चाको शिखर चुम्न सफल खप्तरीको ठाडो भाका, मौलिक सालैजो खरी, खुर्पेटोमा आँसी, सोरठी, हिमालमा डाँफे लगाएतका गीत चर्चामा छन् । खप्तरीले सालैजो सोरठीसँगै आधुनिक गीत र तीजका गीतमा पनि स्वर दिएका छन् ।

पूरा भिडियो हेर्नुहोस् –