प्रथम स्मृतिकप अन्तर विद्यालय नकआउट फुटलब प्रतियोगिता भोलि देखि सुरु

१३ मंसिर, बुटवल । बुटवलमा भोलि (शनिबार) देखि अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । स्मृति स्पोर्टर्स क्लब, तिलोत्तमाले प्रथम स्मृतिकप अन्तर विद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता गर्न लागेको हो ।

विद्यालयस्तरबाटै खेलकूदको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । क्लबका अध्यक्ष महेश खनालले प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी हुने जानकारी दिए ।

‘यो प्रतियोगिता विद्यालय स्तरीय सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता हो ।’ खनालले भने । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार १ सय ११ रूपैयाँ मेडल र प्रमाणपत्र पाउनेछन । त्यस्तै द्वितीयले नगद २५ हजार १ सय ११ रूपैयाँ प्राप्त गर्नेछ । विभिन्न पाँच विद्यामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार रूपैयाँ राखिएको छ ।

प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । बिहान र बेलुका गरी दैनिक २ खेल खेलाइने छ । विद्यार्थीहरूको पढाईमा कुनै बाधा नपुगोस भनेर दुई चरणका खेल खेलाइन लागेको स्मृति बोर्डिङ स्कूलका प्रिन्सिपल हरि ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको सह–आयोजक एन्फा एकेडेमी रहेको छ । प्रतियोगिता शनिबार दिउँसो साढे दुई बजे प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ ।

यो प्रतियोगितालाई स्मृति स्पोर्टर्स क्लबले प्रत्येक वर्ष सञ्चालन गरी उत्सवका रूपमा अगाडि बढाउने स्मृति बोर्डिङ स्कूलका सल्लाहकार तुलसीप्रसाद सापकोटाले बताए । विद्यालयका निर्देशक विष्णु थापाले खेलको विकासका लागि यस्ता प्रतियोगिताहरू विद्यालयहरू नियमित रूपमा गर्न आवश्यक रहेको बताए । प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य फोर नेशन इन्टरनेशनल बुटवलले गरेको छ भने, द्वितीय पुरस्कारको व्यवस्था नसिभ गार्मेन्टले गरेको छ ।