नारायणीमा बगेका श्रेष्ठ दाजुभाइको स्मृतिमा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

२१ कार्तिक , बुटवल । स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची शाखाकी अध्यक्ष अम्बिका श्रेष्ठ बेलबासेका श्रीमान चन्द्रमान श्रेष्ठ र देवर राज कुमार श्रेष्ठको स्मृतिमा चन्द्रराज स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । स्वतन्त्र पत्रकार संघ रुपन्देही र अर्घाखाँचीको पहलमा ६० हजार रकम सहित अक्षयकोष खडा गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समिति तथा बिभिन्न जिल्ला शाखाहरुबाट सहयोग स्वरुप सो रकम जम्मा गरिएको संघले जनाएको छ । चन्द्र र राजको बार्षिक पुण्य  तिथिको अबसरमा उनीहरुकै निवास रुपन्देहीको बेलबासमा आयोजित श्रदाञ्जली सभामा संघले सो अक्षयकोषको घोषण गरेको हो ।

आफ्ना भाइहरुको स्मृतिमा अक्षयकोष स्थापना गर्न पहल गर्ने संघप्रति आभार प्रकट गर्दै मृतकका जेठा दाजु गोबिन्द्र प्रसाद श्रेष्ठले परिवारको तर्फबाट पनि सक्दो रकम थप गरेर अक्षयकोषलाई बढाउदै लैजाने प्रतिवद्धता ब्यक्त गरे । स्वतन्त्र पत्रकार संघ अर्घाखाँची शाखाको संरक्षणमा रहने सो अक्षयकोषबाट बार्षिक रुपमा स्वतन्त्र कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

श्रदाञ्जली सभामा संघको राष्ट्रिय समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, महासचिव नवराज पहाडी, कास्की शाखाका सचिव असफल गौतम, अर्घाखाँची शाखाका राष्ट्रिय पार्सद डिल्लिराज घिमिरे, संचारिका समुह प्रदेश ५ की सचिव माया केसी लगायतले शोक मन्तब्य राखेका थिए । मृतक द्धयका जेठा दाजु गोबिन्द प्रसाद श्रेष्ठले आफ्ना  स्वर्गिय भाईहरुको जिवनी बताएका थिए ।


कार्यक्रममा प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुषाल, उपाध्यक्ष कबिन्द्र नेपाल, प्रगतिशील पत्रकार संघ रुपन्देहीका सचिव डि आर बञ्जाडे, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय उप महासचिव राजेन्द्र जंग रायमाझी , कोषाध्यक्ष बिरेन्द्र पाण्डे, कास्की शाखाका  उपाध्यक्ष कृष्ण रानाभाट, पत्रकार शरिना मरासिनी , रेनुका  गिरि, खेम  पाठक, साथै संघका रुपन्देही तथा अर्घाखाँची शाखाका दाधिारिहरुलगायत अन्य उपस्थितले मृतकको तस्विरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

आफ्ना बाबुको श्राद्ध गर्न बुटवलबाट देवघाट पुगेका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा गतबर्ष डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको भोलिपल्ट २८ वर्षीय भाइ  राजकुमार श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो भने ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव ५ दिन पछि मात्रै नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको थियो । श्राद्ध गर्नु अघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरूलाई नदिले बगाएको थियो ।

स्वगीर्यय चन्द्रमानका एक श्रीमती , एक छोरा र एक छोरी छन भने राज अबिवाहित थिए । अर्घाखाँची  जिल्लामा रहि पत्रकारिता गर्दै आएकी स्वर्गिय चन्द्रमानकी श्रीमति अम्बिका श्रेष्ठ बेलबासेले सो अक्षयकोष स्थापनाले आफ्नो पिडामा केही मलम लागेको अनुभुति भएको बताईन ।