टिपिएल २ – लुम्बिनी कासाई र नुसी वरिर्यसको जित

स्वस्तिक श्रेष्ठ 

३ मंसिर, बुटवल । रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटर्स र नुसी वरिर्यसले जित हासिल गरेका छन । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाईले रोयल च्यालेन्जर भैहरवामाथि ५ विकेट तथा नुुसीले बुटवल डाईनामाईटमाथि ४६ रनको जित निकालेको हो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस हारेर च्यालेन्जर भैरहवाले ब्याटिङ्गको निम्तो पाएपछि निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रनको लक्ष्य खडा गरेको थियो । रोयल च्यालेन्जर भैरहवाका सुशान्त थापाले २९, सोनु तामाङ्गले ६१ रन जोडेका थिए । लुम्बिनी कसाईका बलर रुपेश कुर्मीले ६ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको लुम्बिनी कासाईका ब्याट्सम्यानले १८.४ ओभरमा ५ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो ।

लुम्बिनी कासाईका ओपनर कुशल मल्ल र सुमन पाण्डेको जोडीले राम्रो शुरुवात गरेका थिए । मल्लले ३६ बलमा ५७ रनको योगदान दिए । अर्का ओपनर सुमन पाण्डे ९ बलमा ७ रन जोडेर सोनु तामाङ्गको बलमा आशुतोषको क्याच हुदै पेभिलियन फर्किए । राजु साहनीले ३३ बलमा ३६ रन तथा बिकले १९ बलमा १७ रनको योगदान दिएका थिए । रोयल च्यालेन्जर भैरहवाका अहमद हुसैनले २ ओभरमा ६ रन दिएर २ तथा सोनु तामाङ्ग, इकलाख अहमद र रमेश कुर्मीले समान १–१ विकेट लिएका थिए ।

लुम्बिनी कासाईका रुपेश कुर्मी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । यसैगरि दोस्रो खेलमा टस जितेर बुटवल डाईनामाईटले फिल्डिङ्ग रोजेर नुसीलाई ब्याटिङ्गको निम्तो दिएको थियो । नुसीका ब्याट्सम्यानहरुले १९.२ ओभरमा १ सय ५३ रन बनाएका थिए । दिपेन्द्रसिह ऐरीले ३५ बलमा ७० रन तथा महेश रानाले १९ बलमा १६ रन जोडेका थिए । यसैगरि सरोज पौडेलले १२ बलमा २० रन बनाए ।

बुटवल डाईनामाईटका साहब आलम र अभिषेक गौतमले समान ४–४ विकेट लिएका थिए । मध्यम लक्ष्य पछाएको बुटवलका ब्याटसम्यानहरु क्रिजमा टिक्न सकेनन । ओपनर मृनल गुरुङ्ग ४ बलमा ४ रन बनाएका थिए । यसैगरि अर्का ब्याटसम्यान प्रज्वल थापा ४० बल खेल्दै ३६ तथा सौरभ खनाल १२ बलमा १५ रनबाहेक अन्य कुनै ब्याटसम्यान क्रिजमा टिक्न सकेनन ।

बुटवललाई कम स्कोरमा रोक्न दिपेन्द्र सिह ऐरीले उत्कृष्ट बलिङ्ग गरेका थिए । उनले ४ ओभरमा ९ रन खर्चेर एक मेडन लिएका थिए । नुसीका कुशल भ्रुतेलले ४ तथा सुनिल पौडेलले २ विकेट लिएका थिए । खेलमा नुसीका दिपेन्द्रसिह ऐरी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

मंगलबार पहिलो खेल ज्ञानोदय गोल्डस र रोयल शंकरनगर तथा दोस्रो खेल मणिग्राम किङ्स र एसआरएनसिएसए टाइगर्सका बिचमा हुने छ ।