सरकार ! नेपाली युवा कहिलेसम्म सस्तोमा महँगा पसिना बेच्न बिदेशीनु पर्ने ?

रमेश पराजुली

१५ असोज, बुटवल । यो वास्तविक हो कि सीप, जोस, जाँगर र क्षमता हुँदाहुँदै पनि देशभित्र काम गर्ने उचित वातावरण नहुँदा धेरै नेपाली युवा शक्तिहरू विदेश पलायन हुन वाध्य भएका छन् । यसमा कसैको दुई मत छैन ।

कुनै पनि देशको विकासमा युवा जनशक्तिको भुमिका अग्रणी हुन्छ । युवाको श्रम, सीप, जोश र जाँगरको सही एवं उचित सदुपयोग भयो भने त्यो देशको विकास हुनमा समय लाग्दैन । तर नेपालमा सरकारले युवाको श्रम र शक्तिको सही सदुपयोग गर्न नसकेको कारण नै मुलुकमा आन्तरिक द्वन्द्व बढ्दै गएको कुरालाई कसैले नकार्न सक्दैन ।

युवाहरूको आवश्यकता र चाहनालाई परिपुर्ति गर्नका लागि रोजगारका अवसरहरू प्रदान गर्न सकेनौं भने उनीहरूको क्षमता र ऊर्जा, आक्रोश अपराधमा लाग्न सक्छ । यसरी बेरोजगारी बस्न बाध्य भएका युवाहरूले आफ्नो जीविकोपार्जनका लागि जस्तोसुकै बाटो अँगाल्न सक्छन् भन्ने कुरालाई सरकारले राम्रोसँग बुझ्नु जरुरी छ ।

त्यसैले मुलुकको दिगो विकासको लागि युवाहरूको क्षमता र ऊर्जालाई स्वदेशभित्रै सहीरूपमा सदुपयोग गर्ने नीति राज्यले लिनुपर्दछ । अन्यथा बढ्दो बेरोजगारीले सिङगो समाजमा द्वन्द्व, अपराध र अराजकतालाई बढाउने काम गर्छ । यसलाई समयमैं सम्बोधन गरिएन भने शान्ति, स्थायित्व र प्रगतिका लागि चुनौती बनिरहने छ ।

देशभित्रै रोजगारीका अबसर नहुँदा धेरै नेपाली युवाहरू स्वर्गजस्तो जन्मभुमि छाडेर धन कमाउने र आफ्ना परिवार र सन्ततिलाई खुसि राख्ने सपना बोकेर खाडी मुलुकमा सस्तोमा महङ्गा पसिना बेच्नकै लागी जान बाध्य छन् । सरकार कहिलेसम्म हामी नेपाली युवा शक्तिहरू सस्तोमा महङ्गा पसिना बेच्न बिदेशीनु पर्ने ? बिदेशीनु नेपाली युवाहरूको लागि बाध्यता बनेको छ । धेरै नेपाली युवाहरू चर्को व्याजदरमा साहुसँग ऋण खोजेर विदेशीन्छन् तर त्यहाँ पुगेपछि भनेजस्तो काम नपाउनु, नेपालमा भनेभन्दा कम तलबमा धेरै समय काम गर्न बाध्य हुनु आदि कारणले युवाहरूमा निरासा थपीएको छ ।

अझ दु:खको कुरा त नेपाली युवाहरूले बिदेशी भुमिमै ज्यान गुमाउन बाध्य छन् । जहाजमा उडेर गएको मान्छे बाकसमा फर्किदाँ घरमा कुरेर बसेका आफन्तहरूको लागि यो जस्तो दु:खको कुरा के होला ? देशमा च्याउ उम्रेजस्तै गरि खोलीएका म्यानपावर कम्पनीहरूले पनि सोझा नेपाली युवाहरूलाई विभिन्न लोभ देखाई उनिहरू सँग लाखौं रूपैयाँ ठग्ने गरेका छन् । यस्ता ठग म्यानपावर कम्पनीहरूलाई पहिचान गरि कारवाही गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।

नेपालमा रोजगार सृजनाका निम्ति कृषि क्षेत्र एउटा सशक्त र प्रमुख आधार स्तम्भको रूपमा रहेको छ। त्यसैले मुलुकमा रोजगार सृजनाका लागि विद्यमान कृषि अर्थतन्त्रको संरचनागत परिवर्तन गरी कृषिले जग्गाको वैज्ञानिक उपयोग गर्न पाउने अवस्था सृजना गर्नुपर्दछ। श्रम व्यवस्थापन सुचना प्रणालीको स्थापना गरी बेरोजगारीहरूका लागि रोजगारका अवसरबारे सूचना प्रवाह गर्ने संयन्त्रको विकास गर्न सक्नुपर्दछ । मुलुकका केही निश्चित क्षेत्रहरूमा गरिने लगानीले अधिकतम रोजगार सृजना हुन सक्दछ। पर्यटन, जलस्रोत, ऊर्जा, खानी, कृषि, शिक्षा, सुचना प्रविधि, ग्रामीण पूर्वाधार विकास, सेवा आदि रोजगार अभिवृद्धि गर्ने प्रमुख क्षेत्रहरू हुन्। यसैगरी औद्योगिक विकासका लागि आधारभूत क्षेत्रमानिएका ऊर्जा तथा सडक पुर्वाधार जस्ता ठुला लगानीका आयोजना तथा परियोजनाहरूबाट प्रत्यक्ष रोजगारको अवसर सृजना हुन्छ र यसले आर्थिक तथा सामाजिक रूपान्तरणका क्रियाकलापहरू विस्तार भई नयाँ–नयाँ अवसरहरू विस्तार हुने हुँदा यस्ता क्षेत्रमा राज्यले लगानीमैत्री वातावरण निर्माण गरी समग्रमा रोजगारका अवसरहरूको सृजना गर्न सक्नुपर्दछ। तर हामीकहाँ पुँजी र श्रमबीच उच्चतम बिन्दुमा देखिएको द्वन्द्वले समेत रोजगार सृजनामा प्रतिकूल असर पारेको देखिन्छ ।

श्रम र पूँजीको सम्मिश्रण नभई उत्पादनमा वृद्धि हुन सक्दैन र यस्तो अवस्थामा पूँजीपति र श्रमिक दुवै वर्गलाई फाइदा हुन सक्दैन। त्यसैले नेपालमा शोषणरहित नाफामुखी औद्योगिक श्रम आजको आवश्यकता हो । तर हामीकहाँ आन्तरिक उत्पादन बढ्न नसकेको कारण विदेशी उत्पादनले फाइदा उठाइरहेको अवस्था छ । नेपालमा बेरोजगारी बढ्नुको एक मुख्य कारण विद्यमान शिक्षा प्रणाली पनि हो, जसले प्रत्येक वर्ष न्यून प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने गर्छ। यस्तो शिक्षाले बेरोजगारीको दरलाई अझ बढाएको छ। त्यसैले प्रत्येक नेपाली नागरिकलाई माध्यमिक तहदेखि नै व्यावसायिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति राज्यले लिनुपर्दछ। नत्र जतिसुकै सुधारका प्रयास गरे पनि बेरोजगारी समस्याको निराकरण गर्न सकिंदैन ।

नगरपालिका, गाउँपालीकासम्म सिपमुलक तालिम तथा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न तथा औपचारिक शिक्षाको उमेर पार गरिसकेका नागरिकलाई पनि उनीहरूको घरदैलोमा पुगेर पेशागत सीप, वैज्ञानिक उन्नत खेती, पशुपालन, फलफूल तथा तरकारी खेती, माछापालन, जडीबुटी व्यवसाय तथा लघु उद्यमको सीप सिकाएर रोजगारी तथा स्वरोजगार विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो । त्यस्तै जस्तोसुकै काम भए पनि श्रमको सम्मान गरिनुपर्छ भन्ने मानसिकता विकसित गर्नु र गराउनु पनि त्यत्तिकै आवश्यक छ ।

नेपालको दक्ष जनशक्ति बिदेश पठाउन रोक्ने तर्फ देशका सम्बन्धित सबै पक्षको समयमै ध्यान पुग्न सकोस् । नेपाली आमाका छोराहरू घर परिवार, आफन्त र स्वर्गजस्तो जन्मभुमी छाडेर सस्तोमा महँगा पसिना बेच्न विदेश जान बाध्य नबनुन् ।

श्रमको सम्मान गरौँ । जय युवा । जय स्वाभिमान ।