रहेनन् के.आर. लेकाली !

२१ असोज–
प्रगतिशिल गायक एवं शिक्षासेवी के.आर.लेकाली (कोशलराज न्यौपाने)को अमेरिकामा निधन भएको छ । लेकालीको अमेरिकाको भर्जिनियामा आइतबार निधन भएको हो ।
उनको निधन लगत्तै सामाजिक सञ्जालमा विभिन्न राजनीतिक नेतृत्व तथा शुभचिन्तकहरूले समवेदनाका शब्द पोष्ट गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य ठाकुर गैरे आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
दुःखद् खबर !
‘पाल्पाली जन कलाकार २०३६,३७ सालदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर योगदान गर्दै आउनुभएका के.आर.लेकाली नामले परिचित, असल शिक्षक, पार्टी नेता साथै समाजसेवीको रुपमा स्थापित पाल्पा दर्पुक निवासी कोसलराज न्यौपानेको अमेरिकामा निधन भएको खबरले स्तब्ध तुल्याएको छ । यस दुःखद् घडिमा दिवंगत आत्माको चिर शान्ति, कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
सामाजिक सञ्जालमा लेकालीलाई नजिकबाट जानेका यम्घा पाल्पाका पूर्व जनप्रतिनिधि धुव्र अधिकारी लेख्छन् ।
‘अन्यत्नै दुःखद खबर !
पाल्पाको उत्तरी क्षेत्रका होनहार प्रगतिशील लोकगायक, २०३७ सालमा अखिल, २०४२ सालमा युथ लिग र २०४७ सालमा सङ्गठित सदस्य, २०५० मा जनसांस्कृतिक मञ्च पाल्पाका उपाध्यक्ष क.के.आर.लेकालीको अमेरिकामा निधन भएको खबरले हामी मर्माहत छौं र उहाँका शुभचिन्तकहरूको हृदय विदारक निरन्तर फोन सुन्ने र विवरण बताउनेमा आजको दिन बित्यो । यो घडिमा मृत आत्माको चिर शान्ति, उहाँको परिवारमा धैर्य धारण गर्ने क्षमताको कामना गर्दै समवेदना जाहेर गर्दछु ।’
लेकालीले आइतबार परिवार र केही आफन्तसँगै बसेर कुराकानी गर्दागर्दै छाती दुःख्यो भनेको र लगत्तै अस्पताल लगेको केही समयमै निधन भएको आफन्तजनले बताए ।
स्वर्गीय न्यौपाने उत्तरी पाल्पामा रहेको भगवती आधारभूत विद्यालयमा लामो समय शिक्षण पेशामा संलग्न थिए । उनको निधनप्रति उनका निकटतम शुभेच्छुक एवं वगनासकाली गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी फेसबुक पेजमा पोष्ट गरेका छन्–
‘पूज्यनीय गुरु लोक संस्कृतिका तारा कोशल न्यौपानेको अमेरिकामा भएको असामयिक अकल्पनीय निधनको खबरले मर्माहित तुल्याएको छ यस दुःखद् घडिमा मृतात्माको चीर शान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु ।’
न्यौपाने लोक गायिका लक्ष्मी न्यौपानेका काका हुन् । उनका बटौली मेलैमा, रीडिबजार लगायतका लोक एल्बम पनि बजारमा छन् । स्व. न्यौपाने भ्रमणमा सिलसीलामा अमेरिका पुगेका थिए । श्रीमति सहित अमेरिका पुगेका न्यौपाने छोरी सुशीला र परिवारका अन्य सदस्यका साथ रहेका थिए । निधन भएका कोशलराज न्यौपाने अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमला खरेलका सहोदर दाजु हुन् ।