‘बोलिने, सुनिनेमा भन्दा छापिने सञ्चारको प्रभावकारिता बढ्दै’

भोजराज भट्टराई

१९ असोज, पाल्पा । बोलिने, सुनिने सञ्चारमाध्यमको भन्दा लेखिएर छापिने सञ्चारको प्रभावकारिता बढी रहेको पाल्पामा आयोजित एक अन्तरक्रियाका सहभागीले बताए ।

रेडियो, टेलिभिजन र अनलाइनले पनि छापा माध्यमलाई आधार बनाउने प्रचलन बढी भएको भन्दै उनीहरूले बोलिएका भन्दा लेखिएकोमा बढी विश्वास हुने अनुभव औंल्याए । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा स्थानीय सञ्चार माध्यमसँग आयोजना आज तानसेनमा आयोजना गरिएको अन्र्तक्रियामा सहभागीहरूले छापा सञ्चारमाध्यमको महत्व बढेकोमा समर्थन जनाएका हुन् ।

कार्यक्रममा विभिन्न जिल्लामा गरिएको सर्वेक्षण विवरण प्रस्तुत गर्दै शेयरकास्टका प्रमुख कार्यकारी मधु आचार्यले स्थानीय मिडियाहरू राष्ट्रिय हाराहारीमा पुग्न लागेको तथ्याङ्क प्रस्तुत गरे । ‘हाम्रो मुख्य लक्ष्य स्थानीय सञ्चार माध्यमलाई मजबुत बनाउँदै पाठक, स्रोता बढाउने हो’ उनले भने, ‘सामाजिक सञ्जाल र मोवाइल प्रयोगकर्ता बढी रहँदा मिडियालाई केही चुनौनी चाहिँ पक्कै बढिरहेको छ ।’ उनले सञ्चारमाध्यममा स्रोता, पाठक, दर्शक र अनलाइन भिजीटरहरू आफ्नो रुची अनुसारका विषयमा विभाजित भएकोले सञ्चारमाध्यममा विकेन्द्रीकरण भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार मेघराज शर्माले स्थानीय सञ्चार माध्यम के कस्तो प्रयोजनका आधारमा पढिने, सुनिने र हेरिने गर्दछ त्यस्तो आधारिक विवरण आउन सकेमा सर्वेक्षण सार्थक बन्ने बताए ।

महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई र झपेन्द्र गहिरेले सञ्चारमाध्यममा स्थानिय गतिविधिले आधिकारिकता प्रदान गर्ने र विश्वास भराउने भएकैले बढी उपयोगी भएको बताए । उनीहरूले स्थानीय सञ्चार माध्यमको सबलीकरणमा ध्यान पु¥याउनुपर्ने बताए । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले स्थानीय गतिविधि, स्थानीय स्रोत र स्थानीय विषयवस्तुबारे बढी सोधिखोजी गरेर सञ्चारमाध्यममा सामग्री प्रकाशन, प्रसारण गरिने भएकोले स्थानीय मिडियाको महत्व बढ्दै जान थालेको बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता र सचिव किरण कौशलको सञ्चालनमा सम्पन्न भएको हो ।