पाचौ माउण्ट स्टार नक आउट फुटबल : गोर्खा ब्वाईज सेमीफाईनलमा

१४ कार्तिक बुटवल । बुटवलको नहरपुरमा जारी पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब बुटवल विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेको छ ।

नहरपुर मावि खेलमैदानमा बुधबार भएको निक्कै प्रतिस्प्रर्धात्मक क्वाटरफाईनल खेलमा विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईज सेमीफाईनलमा स्थान पक्का गरेको हो ।

गोर्खाको जितमा एकमात्र गोल नानाले गरेका थिए । खेलको ७३ औ मिनेटमा दिपेशजंग थापाको क्रसमा नानाले उत्कृष्ट गोल गरेका थिए । खेलमा गोर्खाका निशान्त न्यौपाने म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

प्रतियोगिताको विहिबार सेभेन स्टार बेलभरिया र आयोजक माउण्ट स्टार क्लबका बिचमा खेल हुने संयोजक बिनोद गौतम क्षेत्रीले बताए । प्रतियोगितामा उपाधिका लागि काठमाण्डौ, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रुपन्देही १६ वटा टिमले भाग लिएका छन ।