बैंकका कर्मचारीलाई दशैंको विदा मात्र दुई दिन

झविन्द्र देवकोटा

६ असोज, बुटवल । यस बर्षको दशैमा वित्तिय संस्था तथा बैंकका कर्मचारीले दुई दिनमात्र बिदा पाउने भएका छन् । अघिल्ला वर्षहरुमा ५ दिन बिदा पाउदै आएका बैंकका कर्मचारीले नेपाल राष्ट्र बैंक वित्तीय संस्था नियमन विभागको पत्रका आधारमा आउने दशैका बेला दुई दिन मात्र विदा बस्न पाउने भएका हुन् ।

राष्ट्र बैंकले यसअघिनै गरेको निर्णय अनुसार प्रत्यक तीन÷तीन महिनाको अन्तरालमा महिनाको २५ गतेदेखि मसान्तरसम्मका सार्वजनिक विदामा बैंकका कर्मचारी बिदा बस्न नपाउने ब्यवस्था गरेको छ । त्यहि ब्यवस्था र सूचनाका आधारमा बैंकका कर्मचारी विदा बस्न पाउदैनन् । सोही आधारमा कार्तिक १ गते दशैको अघिल्लो दिन महानवामीमा र कार्तिक २ गते परेको दशैको दिन गरि दुई दिन मात्र बैंकका कर्मचारीले बिदा पाउने भएका हुन् ।

दशैको अर्काे दिन यसैपनि शनिबार परेकाले कर्मचारीले यो दशैमा दुई दिन मात्र दशैको विदा पाउने भएका हुन् । असोजको ३० गते फुलपाती र ३१ गते महाअष्टमी परेकाले सो दिन राष्ट्र बैंकले कर्मचारीलाई बिदा नबस्ने निर्णय सहितको सुचना सर्कुलर गरि सकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । पौडेलले गएको पुष २६ गते बैंक तथा वित्तीय संस्थाका लागि प्रेशित गर्नु भएको पत्रमा वर्षभरी असार महिना, असोज महिना, पुष र चैत महिनाका २५ गतेदेखि मसान्तरसम्म तथा त्यसभित्र परेका शनिबार लगायत जुनसुकै सार्वजनिक विदा परेतापनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता कार्यालयहरु, भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायत सम्पुर्ण बैंकहरु, राजश्व वापत प्राप्त हुने चेक क्लियरिङ गर्नु पर्ने भएकाले बंैक तथा नेपाल क्लियरिङ हाउसहरु पुर्ण रुपमा खुल्ला गर्न निर्र्देशन दिइएको उल्लेख छ ।

उक्त पत्र राष्ट्र बैंक मातहतका सम्पुर्ण कार्यालयहरुमा बोधार्थ पठाइएको छ । यो सूचना बैंक तथा वित्तिय कार्यालयमा पुगेसँगै अघिल्ला वर्षहरुमा ५ दिनसम्मको लामो विदा बस्दै आएका बैंक तथा वित्तीय कार्यालयका कर्मचारीहरु निराश बनेका छन् । लामो विदा लिएर घुम्ने र टिका थाप्न टाढाको घर जाने कर्मचारीहरु सट्टा विदा तथा आफ्ना सहकर्मीसँग बिदा साट्ने र अघिपछि आलोपालो मिलाउने गरेको सुनिएको छ । दशैं विदामा घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन ।

दशैं विदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुने छ । तर बैंकका कर्मचारीलाई यो वर्ष दुई दिनमात्र परेको छ दशैको अर्काे दिन शनिबार यसै सार्वजनिक विदा परेको छ ।

वर्षभरीका असार महिना, असोज महिना, पुष र चैत महिनाका २५ गतेदेखि मसान्तरसम्म तथा त्यसभित्र परेका शनिबार लगायत जुनसुकै सार्वजनिक विदामा बैंकका कर्मचारी विदा बस्न नपाउने ब्यवस्था अनुसार असार महिनाको ३० गतेको शनिबार, असोजको २७ गतेको शनिबार, ३० र ३१ गते परेको दशैको सार्वजनिक विदा, पुषको २८ गते परेको शनिबार र चैतको ३० गते परेको शनिबार पनि बैंक तथा वित्तीय संस्था एवम् राजश्व कार्यालयहरु, करदाता कार्यालयहरु, भन्सार कार्यालयहरु खुल्नु पर्ने राष्ट्र बैंकको निर्देशन रहेको कार्यकारी निर्देशक पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । यो तालिका मात्र २०७५ सालको हो । अर्काे वर्ष महिनाको २५ गतेदेखि मसान्तरसम्मको ब्यवस्था उही रहने छ भने मिति फरक हुने छ ।

टिकाको उत्तम साईत कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा

यसैबीच यसवर्षको वडादशैंको टिकाको उत्तम साईत कार्तिक २ गते ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टिका लगाउन सकिने छ । घटस्थापनाको शुभ साईत आगामी असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा छ ।