पत्रपत्रिकामा आज : आजका राष्ट्रिय पत्रपत्रिकाका मुख्य समाचार

६ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा एकै विषय नपरेर अलग–अलग परेका छन् । कुनै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे चलेको बहसमा सहभागी भएका छन् भने केहीले खेलाडीको आम्दानीको सोधीखोजीसँगै विश्वविद्यालयको खस्कँदो साखबारे चर्चा परिचर्चा गरेका छन् ।

नेकपाले शुक्रबार सातै प्रदेश कमिटीको नेतृत्व तोकेकोलार्इ पनि  आज प्रकाशित पत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

शनिबार भएकाले साहित्यिक सामग्रीहरुले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले आज खेलाडीको कमाइबारे एक सामग्री पस्केको छ । खेलेरै नेपालमा जीवन धान्न कठिन रहेको गुनासो खेलाडीबाट आइरहेका बेला केही खेलाडीले भने मनग्य आम्दानी गर्दै आइरहेकाे समाचार सामग्रीकाे सार छ ।

नयाँ पत्रिकाका अनुसार समकालीन नेपाली खेलाडीहरुमा सर्वाधिक कमाइ गर्ने खेलाडीमा सन्दीप अग्र पंक्तिमा छन् । उनले ६ महिनामै करोडभन्दा बढी कमाएका छन् । विदेशी लिगहरुमा खेल्दा सन्दीपले पाएका सम्मान, पुरस्कार र राष्ट्रिय टोलीबाट लिने तलब–सुविधा यसमा जोडिएको छैन ।

क्रिकेटर पारस खड्काको कमाइ पनि राम्रै छ । उनले कुनै महिना १० लाख रुपैयाँसम्म आर्जन गर्ने गरेको नयाँ पत्रिकालाई बताएका छन् । विमल घर्तीको मासिक आम्दानी १ लाख हुन्छ भने गोलकिपर किरण चेम्जोङ ३ लाखसम्म बनाउँछन् ।

फुटबलर रोहित चन्दले मासिक ५ लाख कमाउँछन् भने टीटी खेलाडी नविता श्रेष्ठकाे मासिक अाम्दानी ८० हजारसम्म हुन्छ । फुटबलर विराज महर्जन, विक्रम लामा,  र सुजल श्रेष्ठकाे कमाइ बराबर जस्तै छ । उनीहरूले नयाँ पत्रिकासँग मासिक १ लाख कमाउने गरेकाे बताएका छन् ।क्रिकेटर शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र साेमपाल कामीले पनि मासिक अाम्दानी १ लाख हाराहारीमा गर्ने गरेका छन् ।

नयाँ पत्रिकामै सुन तस्करले अपनाउन थालेको नयाँ जुक्तिबारेको सामग्री पनि छ । समाचार अनुसार जुब्रोमुनि सुनका टुक्रा राख्नेदेखि , सुनकै पेटी र सुनकै साँचो बनाएर तस्करी गर्ने गरिएको छ ।

कान्तिपुरले ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः बन्न सक्छ कम क्षतिमै’ शीर्षक दिएर जारी बहसमा सहभागी भएको छ । कान्तिपुरका अनुसार कम क्षतिमै निजगढ विमानस्थल बन्न सक्छ ।

देशका विश्वविद्यालयबारे चिरफार गरेको छ अन्नपूर्णले अधिकांश बदनाम देखिएको ठहर गरेको छ । गुणस्तरीय शिक्षा प्रदानतर्फ केन्द्रित हुनुपर्ने विश्वविद्यालय सम्बन्धनमा सबैभन्दा बढी कमाइ हुने गरेकाले मरिहत्ते गरेर लाग्ने गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णमै सरकारले संघीय नेपालको प्रशासन हाँक्ने मुख्य कानून अध्यादेशमार्फत ल्याउने रणनीति बनाएको अर्को सामग्री पनि छ । केही प्रशासकको स्वार्थपूर्तिका लागि संसद् छलेर अध्यादेशमार्फत संघीय निजामती सेवा कानून ल्याउन लागेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

नागरिकले किशोरकिशोरीहरु सामाजिक सञ्जालको चरम दुरुपयोगमा संलग्न हुन थालेकोलाई मुख्य समाचारको रुप दिएर छापेको छ । समाचार अनुसार प्रेम सम्बन्धमा रहुन्जेल गोप्य अंगका तस्वीर तथा भिडियो आदान प्रदान गर्ने तर सम्बन्ध बिग्रिएपछि त्यो सार्वजनिक गर्ने प्रवृत्तिले अनेक समस्या सिर्जना भइरहेका छन् ।

गोरखापत्रले नेकपाले सातै प्रदेश समितिमा नेतृत्व चयन भएको, दुई प्रसारण आयोजनालाई राष्ट्रिय गौरवको मान्यता दिइएकोलगायत समाचार पहिलो पृष्ठमा छापेको छ ।

नेकपा प्रदेश कमिटीमा पूर्वएमाले हाबी भएको निष्कर्षसहितको विश्लेषण राजधानी दैनिकमा पढ्न सकिन्छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका पहिलाे पृष्ठ