निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

१० असोज, काठमाडौ । छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपालका लागि चिनियाँ राजदूत यू होङले आज यहाँ आयोजित कार्यक्रममा अस्पतालको विस्तार तथा स्तरोन्नतिको औपचारिक शिलान्यास गरे ।

सो अवसरमा मन्त्री पण्डितले निजामती अस्पतालको विस्तारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए । अस्पतालको विस्तार तथा स्तरोन्नतिले भविष्यमा थप गुणस्तरीय सेवा सहजरूपमा पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

चीन सरकारबाट निर्मित धेरै परियोजनामध्ये निजामती अस्पताल नेपाललाई उपहारका रूपमा रहेको र यसलाई भविष्यमा ‘पोस्ट ग्रयाजुएट डिग्री’ अध्ययन अध्यापनका लागि चिकित्सा महाविद्यालयमा विकास गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होङले सिभिल अस्पताल यसको उत्कृष्ट डिजाइनका कारण २०७२ को भूकम्पपछि महत्वपूर्ण उद्धारस्थल बनेको स्मरण गरे । त्यतिबेला अस्पतालमा घाइते र बिरामीको भीड र स्वास्थ्यकर्मी व्यस्त भएर काम गरेको दृश्य आफ्नो स्मृतिमा अझै ताजा रहेको उनको भनाइ थियो । “म त्यतिबेला यहाँको दृश्य देखेर विचलित भएकी थिएँ, हामी एउटा महान काममा खटिएका थियौँ । चीन सरकारले यो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गर्नुको खास कारण पनि त्यही हो”, राजदूत होङले भने ।

सिभिल अस्पताल स्थापनाको १० वर्ष नेपाल र चीनबीचको मित्रताको लिखत भएको र नेपालको लोकतान्त्रिक प्रक्रियामा साक्षी बनेको उनको भनाइ थियो । नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय नेतृत्व तहमा नियमित भ्रमण आदान प्रदान भइरहेको पनि उनले बताए ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले बताए अनुसार यो परियोजना झण्डै रु एक अर्ब ३० करोडको हुने र १५ महिनामा निर्माण कार्य सम्पन्न हुनेछ । नयाँ स्वरुपमा अस्पतालमा २७० श्यया रहने र शल्यक्रिया कक्ष, न्यूरो सर्जरी सेवा, मुटु रोगसम्बन्धी उपचार सेवा र अन्य सुविधा सम्पन्न भवन र उपकरणको व्यवस्था हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*