पत्रपत्रिकामा आज : आजका राष्ट्रिय पत्रपत्रिकाका मुख्य समाचार

७ भदौ , काठमाण्डौ । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । केहीले दुर्घटनाका घाइतेलाई अस्पतालले बन्दी बनाएकोलाई मुख्य समाचार बनाएका छन् भने कुनैले प्रेसमाथि झनै अंकुश लगाउने तयारी गरिएको, सरकार आफैंले सामाजिक सञ्जाल चलाउन लागेकोलगायत समाचार प्रकाशित गरेका छन् ।

त्यसैगरी, सरकारले कालीमाटीका ९८ स्टल खारेज गर्ने तयारी गरेको, नेकपाको ६५ जिल्लाको नेतृत्व बाँडफाँट भएको, सेनाको २३ करोड जोखिममा परेकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै महत्त्व पाएका छन् ।

कान्तिपुरले ‘सामाजिक सञ्जाल चलाउँदै सरकार’ शीर्षक दिएर सरकारका सबै निकायले अब सामाजिक सञ्जालहरु भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रुपमा सञ्चालन गर्ने भएको लेखेको छ । सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग कार्यविधि, २०७५ जारी गर्दै यस्तो व्यवस्था गर्न लागेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालका माध्यमबाट जनगुनासा तत्काल सम्बोधन गर्न र जनतासँग सरकारी निकायको सम्बन्ध मजबुत बनाउन भन्दै यस्तो कार्यविधि ल्याइएको हो ।

कान्तिपुरमै फेसबुकमा प्रधानमन्त्रीको फोटो बिगारी सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रे, रोशी–५ का वडा सचिव होमनाथ सिग्देललाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको समाचार छ । नायब सुब्बा सिग्देलले फेसबुकमा प्रधानमन्त्रीको टाउकोमा जनावरको शरीरमा जोडिएको फोटो सेयर गरेको महाशाखाले जनाएको छ ।

कालीमाटीका ९८ स्टल खारेज हुने भएकोलाई पनि कान्तिपुरले समाचारको रुप दिएर छापेको छ । समाचार अनुसार सरकारबाट २० हजार भाडामा लिई अन्यलाई १ लाख रुपैयाँसम्ममा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो ।

उपचार खर्च तिर्न नसक्दा बिचल्लीमा परेका घाइतेहरुको व्यथालाई नयाँ पत्रिकाले उत्खनन गरेको छ । १७ लाख तिर्न नसकेर ग्राण्डीमा बन्धक भएका चितवन राप्ती भण्डाराका रमेश हुमागाई, २३ लाख तिर्न नसकेर हुमागाईजस्तै गरी ग्राण्डीमा बन्धक बनाइएका दीपेन्द्र श्रेष्ठलगायतलाई समाचारको विषयवस्तु बनाइएको छ ।

नयाँ पत्रिकामै नक्सालबाट गोदावरी जंगल पुर्याएर १३ वर्षीया बालिकालाई बलात्कार गरिएको, प्रदेश २ सभामा प्रधानमन्त्रीको सम्बोधनले राजपामा विवाद बढेको लगायत समाचार पनि छन् ।

निरन्तर सिक्टा अनियमिततामाथि चासो देखाइरहेको नागरिकले सरकारले कुनै पनि सूचना संकलकलाई सातवटा पूर्वसर्त पूरा गरेपछि मात्र सूचना उपलब्ध गराउने भएको लेखेको छ ।

अन्नपूर्णले नेकपाले आफ्ना केन्द्रीय नेताको सम्पत्ति लगत राख्न शुरु गरेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार भदौभित्र सम्पत्ति विवरण बुझाउन उसले १० दिनअघि केन्द्रीय सदस्यहरुलाई सर्कुलर गरेको छ ।

सेनाको २३ करोड जोखिममा परेकोलाई अन्नपूर्णले एंकर बनाएको छ । कमसल वित्तीय संस्थामा राखेका कारण सेनाको झण्डै २३ करोड रुपैयाँ डुब्ने जोखिममा परेको हो ।

गोरखापत्रले मुलुकको समृद्धि नै सपना भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ भने राजधानीले बाजुराका पहिरो पीडितले झेलिरहेको कहरबारे सामग्री छापेको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज