कर्णाली विकट होइन, प्रकृतिको वरदान हो – मुख्यमन्त्री शाहि

१५ भदौ, काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकट नभई प्रकृतिको वरदान भएको बताए ।

शिक्षक दरबन्दी पुनःवितरण कार्यदलद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यक्रममा उनले भने “कर्णालीलाई विकट र गरीब प्रदेश भनेर मनोवैज्ञानिक त्रास फैलाइ कमजोर बनाइएको छ, यहाँको ढुङ्गा, माटो र हावापानीमा डलर छ भन्ने चिन्नुपर्दछ ।”

मुख्यमन्त्री शाहीले कर्णालीभित्रको प्राकृतिक सम्पदालाई चिन्न र त्यसलाई विश्व बजारमा विक्री गर्न सक्ने व्यावहारिक एवं प्राविधिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै अब मानिसको जीवनस्तरमा आमूल परिवर्तन गर्ने खालका शिक्षा आजको आवश्यकता हो भने ।

सामाजिक विकासमन्त्री दल रावलले मानव विकासको मुख्य आधार शिक्षा भएकाले मुलुक गरिखाने शिक्षामा गम्भीर भएर लाग्नुपर्ने बताउँदै यसका लागि कर्णाली प्रदेश सरकारले पर्वतीय प्राविधिक विश्वविद्यालय स्थापनाको अवधारणा अघि बढाएको धारणा व्यक्त गरे ।

शिक्षक दरबन्दी पुनःवितरण कार्यदलका संयोजक महाश्रम शर्माले शिक्षक दरबन्दी मिलानमा मुलुकभरि समस्या देखिएको र त्यसमा पनि कर्णाली प्रदेश झनै मारमा परेको बताए ।

शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापाले भूगोल ठूलो तर जनसङ्ख्या कम हुँदा पनि कर्णालीमा शिक्षक सङ्ख्या निकै कम भएको टिप्पणी गर्दै स्थायी र राहत शिक्षकको आवश्यक व्यवस्थापन र शिक्षक विद्यार्थी अनुपात अपेक्षित बन्न नसकेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताए ।