१०५ औं भानु जयन्ती: बुटवलमा भानुको साहित्यक आन्दोलनको चर्चा

२९ असार , बुटवल । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती शुक्रवार बुटवल सहित देशैभरी विभिन्न कार्यक्रम गरि मनाइयो ।

बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानले बुटवलमा भानुभक्तको सालीकमा माल्यार्पण पर्दै भानुको योगदानका बिषयमा बहस गरेको छ । कार्यक्रममा बुटवलको पाल्पा बसपार्क नजिकै भानुपार्कमा रहेको भानुको शालीकमा साहित्यकारहरु अजम्बरध्वज खाती,देवेन्द्र घिमिरे र बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुंइटेल लगायतले संयुक्त रुपमा भानुको शालीकमा माल्यार्पण गरे ।

कार्यक्रममा सहभागी सबैले भानुको भाषिक योगदान, उनले तत्कालीन समयमा गरेको ढिलासुस्तीका विरुद्धमा चलाएको साहित्यिक आन्दोलन, रामायणलाई नेपाली भाषामा उल्था गरी जनजनमा पुराएर नेपालीहरुका निम्ति प्रिय बनेका भानुलाई अहिलेको परिवेशमा भन्दा पनि तत्कालीन समयको आँखाले हेर्नु जरुरी रहेको बताए ।

त्यस्तै बुटवलमा ब्यबस्थित भानुपार्क बनाउन जरुरी रहेको पनि उनीहरुले बताए । अहिले भानुपार्क रहेको स्थानका कयौं संरचना सडक बिस्तारका क्रममा हट्ने जोखिम रहेकाले अन्यत्र पार्कका लागि उपयुक्र्त स्थानको खोजी गर्न र सो पार्कमा भानुसंग सम्बन्धित ऐतिहासिक संरचनाहरु राख्न पनि उनीहरुले सुझाए ।

कार्यक्रमका मुख्य पाहुना बुटवल उप–महानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुंइटेलले प्रतिष्ठान र उपमहानगरको नियमित परामर्श र समन्वयमा उपमहानगरपालिकाले साहित्य,कला र संस्कृतिलाई एउटा अंगको रुपमा लिई सोही अनुसार अघि बढाउन प्रयत्नशील रहेको बताउँदै साहित्यकारहरुको वृत्ति विकास र स्वास्थोपचारका लागि समेत वजेट विनियोजन भएको जानकारी गराए ।

कार्यक्रममा कविहरु अजम्बरध्वज खाती,नारद गौतम,यज्ञ प्रसाद,दीपक विश्वकर्मा,मीन राना,पूण्य प्रसाद श्रेष्ठ,कृष्ण प्रसाद कोइराला,बेद प्रसाद पन्थ,विजु पछाइँले कविता वाचन गरेका थिए भने साहित्यकारहरु गिरि श्रीस मगर,ऋषि आजाद,दल बहादुर गुरुङ,सुन्दर बासी,नारायण ज्ञवाली,देवेन्द्र घिमिरे,दीपक ज्ञवालीले भानुभक्त,वर्तमान साहित्यिक गतिविधिका सन्दर्भमा समेत प्रकाश पारेका थिए ।

बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,बुटवलको आयोजनामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली र सञ्चालन सहसचिव मीन रानाले गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*