प्रदेश ५ का मन्त्री लिला गिरीको पहिलो निर्णय वन र वातावरणको संरक्षण गर्दै उत्पादकत्व बृद्धि गरिने

५ चैत, बुटवल । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री लिला गिरीले औद्योगिकरण र पर्यटन प्रवद्र्धनसंगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व बृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गिरीले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व बृद्धी एवम् स्वच्छ वातावरणका कार्यक्रम समेटिने गरि एक कार्यान्वयन कार्य योजना बनाउने निर्णय गर्नु भएको छ ।

यस मन्त्रालयको कार्यक्षेत्र उद्योग, बाणिज्य, आपुर्ति, पर्यटन, वन विज्ञान वातावरण र जलवायु रहेको छ । नेपालको संविधान बमोजिम संघीयता कार्यानवयनको लागि यी विषय र क्षेत्रसंग सम्बन्धित प्रादेशिक नीति, कानुन, मापदण्ड तथा योजनाको तर्जुमा र कार्यान्वयन गर्न आवश्यक भएको मन्त्री गिरीले बताउनु भयो ।

यसै सन्दर्भमा यस मन्त्रालयबाट सम्पादन हुने कार्यहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरुको संलग्नता र सहभागितामा हुने गरी यस मन्त्रालयका उपसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ ।

मन्त्री गिरीलाई मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलको नेतृत्वमा त्यहाँका विभिन्न तहका कर्मचारीहरुले स्वागत गर्दै कार्यकक्षमा लैजानुभएको थियो । त्यसक्रममा मन्त्री गिरीले सुशासन नै पहिलो र अनिवार्य सर्त भएकाले सोही अनुरुप काम गर्न निर्देशन दिनुभयो । मन्त्रालयका सबै कर्मचारीहरुले सुशासनको अनुभूति हुनेगरी मन्त्रीज्यूको नेतृत्वमा मन्त्रालयका कामलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*