आफ्नै कार्यकर्ताद्धारा नेविसंघका अध्यक्षलाई कालोझण्डा सहित विरोध प्रदर्शन

१० फागुन, बुटवल । बुटवल बहुमुखी क्याम्पसमा नेवि संघका कार्यकर्ताले आफ्नै विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष नैनसिंह महरका विरुद्ध कालोझण्डा देखाउँदै नारावाजी गरेका हुन । कालोझण्डा र विरोधपछि क्याम्पस गेटमा केही बेर झडप समेत भएको थियो । क्याम्पसमा तरुणदलका कार्यकर्ता प्रवेश गरी सर्वसाधारण विद्यार्थीमाथि हातपात समेत भएको बताइएको छ ।

क्याम्पस समितिको सभापतिमा अध्यक्ष नैनसिह महर र महामन्त्री कुन्दन काफ्लेले एउटा सभापतिको लागि अलग अलग ब्यक्तिलाई किटान गरी लेटर पठाएका कारण इकाई समिति बिवादित रहेको बताइएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्षले तोकेको इकाई कमिटीले विगत केही दिन अगाडीदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गर्दै आएको थियो र त्यसको समापनको अवसर पारेर अध्यक्षलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको थियो ।


त्यस्तै महामन्त्री कुन्दन काफ्लेले तोकेका क्याम्पस इकाई सभापतिले बुटवल बहुमुखी क्याम्पसमा आफु आधिकारिक सभापति भएको र अर्काे समुहले समानान्तर गतिविधि गरेकोप्रति विरोध गर्दै सभापतिको विरोध गरेको थियो ।