बुटवल औद्योगिक क्षेत्रका अधिकांश उद्योगमा पानी

लक्ष्मण पोखरेल

 २९ साउन, बुटवल । रूपन्देहीका उद्योगमा वर्षाले करोडौं क्षति गरेको छ । दुई दिनसम्म परेको भीषण वर्षापछि सहर नै जलमग्न हुँदा उद्योगमा पानी पसेको हो ।
बुटवल औद्योगिक क्षेत्रका अधिकांश उद्योगमा पानी पसेको छ । उद्योगको करोडौं नोक्सान भए पनि क्षति विवरण संकलन गर्न बाँकी रहेको रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष गणेश अधिकारीले बताए ।

बुटवलमा २०३८ सालयताकै ठूलो वर्षा भएको बताइएको छ । त्यतिखेरको बाढीले बुटवलको आधा सहर बगाएको थियो । पाल्पामा पानी नपरेकाले तिनाउमा बाढी नआए पनि सडककै पानीले उद्योगमा क्षति पुगेको हो । बुटवल औद्योगिक क्षेत्रमा ६५ वटा उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्र पानीले जलमग्न भएपछि उत्पादन बन्द भएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले बताए । ‘उद्योगका मेसिन भित्रसम्म पानी परेपछि उत्पादन बन्द भएको छ’, उनले भने, ‘क्षतिको विवरण संलकन गरिरहेका छौं ।’

बुटवलको कालिकानगरस्थित पशुपति प्याकेजिङ उद्योगको झन्डै एक करोड रुपैयाँ नोक्सान भएको छ । कच्चापदार्थ र तयारी सामान पानीमा डुबेपछि कामै नलाग्ने गरी नष्ट भएको हो । ढलको निकास पर्याप्त नभएपछि उद्योगमा पानी पसेको थियो । कालिकानगरकै पशुपति अफसेट उद्योगको ३५ लाख रुपैयाँबराबरको क्षति भएको सञ्चालक राजु गैरेले बताए । ‘मेसिनसम्म नै पानीले डुबेपछि केही बचाउन सकिएन’, उनले भने । रूपन्देहीको भलबारी क्षेत्रका साना उद्योगमा पनि पानी पसेर नोक्सान भएको रूपन्देही उद्योग संघले जनाएको छ । अत्यधिक वर्षाले भलबारी सडक नदीजस्तै भएको थियो ।

जिल्लाको लुम्बिनी करिडोरमा रहेका सिमेन्ट उद्योगमा वर्षाले क्षति पुर्‍याएको छ । यकिन विवरण भने आइनसकेको उद्योग संघका कार्यवाहक अध्यक्ष अधिकारीले बताए । ‘नियमित रूपमा उद्योग सञ्चालन हुन सकेका छैनन्’, उनले भने । बुटवलभन्दा भैरहवा क्षेत्रमा पानी कम परेकाले बस्तीमा क्षति भएको छैन । उपमहानगरपालिकाले ढल व्यवस्थापनमा चासो नदेखाउँदा करोडौं नोक्सान बेहोर्नुपरेको उद्योगीहरूको भनाइ छ । हाल निर्माणाधीन ६ लेन सडकको नाली साँघुरो भएकाले सबै पानी घर तथा सडकबाट बगेको छ ।

रूपन्देहीको भलबारीमा सडकमै जम्मा भएको पानी । अन्नपूर्ण


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*