बुटवल उद्योग वाणिज्य संघको अधिवेशन आज सुरू, दलहरूले विकासलाई प्रथामिकता दिनुपर्नेमा ढकालको जोड

२५ असोज, बुटवल। बुटवल उद्योग वाणिज्य संघको ६४ औं साधारणसभा तथा २३ औं अधिवेशन बुधबारदेखि सुरु भएको छ । सभा तथा अविधेशनको नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै ढकालले निर्माण व्यवसायी महासंघका अध्यक्ष र अन्य व्यवसायीहरुको समेत ठाउँ–ठाउँमा हत्या भइरहँदा शान्ति सुरक्षा माथि चुनौती थपिएको बताए । उनले राज्यले उद्योगी व्यसायीहरूलाई सुरक्षाको प्रत्याभूति दिन नसकेको अरोप समेत लगाए ।

ढकालले राजनीतिक दलहरुले आर्थिक विकासलाई पहिलो प्राथमिकतामा नराखेसम्म मुलुकको दिगो आर्थिक विकास सम्भव नभएको बताए । उनले भने, ‘नेताहरूले मुलुकको विकासका लागि आर्थिक एजेण्डलाई जोड दिनुपर्छ ।’
बुटवल उपमहानगरपालिकाका प्रमुख शिराज सुवेदीले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, जितगढी किल्लाको संरक्षण सहित बुटवलको बिकासका लागि उपमहानगरपालिका उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

उनले बुटवलको हिलपार्कमा नेपालकै ठूलो बुद्धमूर्ति र जितगढीमा राष्ट्रिय झण्डा राख्न लागेको जानकारी गराए । संघका अध्यक्ष महेशमान सिंहको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष अर्जुनमान सैजु, निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष खिम बहादुर हमाल, महासचिव हरीप्रसाद अर्याल लगायतले बोलेका थिए ।

सोही अवसरमा पत्रकार बिष्णुप्रसाद घिमिरे र टीआर शर्मालाई १५÷१५ हजार नगद सहित उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार तथा पत्रकारहरु हरिश ढकाल, विश्वास ढकाल, अमृता अनमोल र भुवन काकी लाई ५÷५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
त्यस्तै उद्योगतर्फ तेजेन्द्र खडका, युवा उद्यमीतर्फ परमेश्वर क्षेत्री, वाणिज्य तर्फ गोपालबहादुर पोख्रेल, महिलातर्फ भारती जोशी, कृषितर्फ गंगाप्रसाद सापकोटा र पर्यटनतर्फबाट प्रबिण पाठकलाई सम्मान गरिएको थियो ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि दुई प्यानल प्रतिष्पर्धामा छन् । पूर्व उद्योग उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका हुन् । संघको आज साधारणसभाको बन्दसत्र र योजनाबाट छलफल हुनेछ । भने भोलि निर्वाचनको कार्यतालीका रहेको छ । संघमा १ हजार ९ सय ९९ व्यसायीहरूले मतदान गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*