बुटवल उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी

२३ असोज, बुटवल । उद्योगी तथा व्यबसायीहरुको छाता संस्था बुटवल उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी सुरु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि यहि मंसिरको २५, २६ र २७ मा हुन लागेको २३ औं अधिवेशनमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।

आगामी तीन वर्षे कार्यकालकालागि मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमालको नेतृत्वमा एउटा प्यानल बनाएर उद्योगीहरु प्रचार प्रसारमा जुटेका छन् भने अंघिल्लो कार्यसमितिमा पराजित कृष्णकुमार श्रेष्ठको नेतृत्वमा अर्को प्यानल प्रचारमा छ ।

हमाल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उज्वल कसजु, उद्योग उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा हरिप्रसाद अर्याल, महासविचमा दिनेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा बिमलराज भट्टराई र सचिवमा कमलप्रसाद पौडेल चुनावी प्रचारमा हुनुहुन्छ ।

त्यस्तै श्रेष्ठ नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्ष्यक्षमा जयप्रकाश गुप्ता (जेपी), उद्योग उपाध्यक्षमा शोभाकर पोखरेल, बाणिज्य उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिवमा बिरेन्द्रकेशर जोशी, कोषाध्यक्षमा गौरीशंकर गुप्ता र सचिवमा कमला पोखरेल (मञ्जु) चुनावी प्रचारमा हुनुहुन्छ ।

संघको आगामी तीन वर्षे कार्यकालकालागि निर्वाचन समितिले गत बुधबारदेखि निर्वाचनको कार्यक्रम सुरु गरिसकेको छ । जसअनुसार बुधबार मतदाताको प्रथम नामावली प्रकाशन गरेको थियो भने शनिबार मतदाता नामावली उपर परेको दावी बिरोधको छानवीन गरि एक हजार ९९९ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

संघमा नयाँ नेतृत्व चयनकालागि निर्वाचन समितिले २५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने र २७ गते मतदानको कार्यतालिका सार्वजनिक गरेको छ । २५ सदस्यीय कार्यसमितिमा खुल्ला प्रतिस्पर्धाबाट ७, उद्योगबाट ४, बाणिज्यबाट ४, महिला सदस्य २ र एशोसियट सदस्य १ गरि १८ जना कार्यसमिति सदस्य चयन हुनेछन् । दुबै प्यानलमा सदस्यको टुङ्गो भने लगाईसकेका छैनन् ।

तीन दिनसम्म चल्ने संघको ६३ औं साधारण सभा तथा २३ औं अधिवेशनको तयारी पुरा भएको संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिनुभयो । साधारण सभामा अंघिल्लो साधारण सभाले पारित गरेका कार्यक्रमको समिक्षा गर्नुका साथै उद्योगी व्यबसायीका समस्या, समाधान, नयाँ औद्योगिक क्षेत्र लगायतका बिषयमा छलफल हुने महासचिव हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

संघले निर्धारण गरेको उक्त मितिमा प्रदेश तथा केन्द्रीय संसदको निर्वाचनका कारणले संघको साधारण सभा तथा अधिवेशन नरोक्न आग्रह सहित निर्वाचन आयोग समक्ष संघको टोली डेलीगेसन गएको थियो । निर्वाचन आयोगले साधारण सभा तथा अधिवेशन गर्नकालागि सहमति दिएपछि संघले साधारण सभा तथा निर्वाचनको कार्यक्रमलाई अंगाडी बढाएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*