पत्रपत्रिकाका फ्रन्टपेजः दलबीच बार्गेनिङ तीव्र, सकसमा लोकतान्त्रिक गठबन्धन

२३ असोज, काठमाडौं । दलहरुले निर्माण गरेका वाम र लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र हुँदै गएको छ ।  कांग्रेस नेतृत्वको गठबन्धनमा बार्गेनिङको मात्रा अझै बढी देखिएको छ । राजधानीबाट सोमबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले गठबन्धनका सकसबारे सामग्री पस्केका छन् । पत्रपत्रिकाले लेखेका छन् – संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक्षतर्फ १ सय ६५ सिटमध्ये ५५ सिट र प्रदेशसभा चुनावमा ३३० सिटमध्ये १ सय ३१ सिट माग गर्ने निर्णय गरेका छन् । यसले कांग्रेसलार्इ अप्ठ्याराे परेकाे छ ।’

तीन साताअघि मन्त्रिपरिषद्बाट बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई नहटाउन सर्वोच्च अदालतले हिजो गरेको अन्तरिम आदेशलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् । त्यस्तै न्यायाधीशविरुद्धको रिटले सर्वोच्चको इजलास प्रभावित भएको खबर पनि आजका पत्रपत्रिकामा छ ।

 

सन् १९५० को सन्धि फेरिनेदेखि राष्ट्रपतिको उम्मेदवारीमा धरौटी व्यवस्था हटेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर प्रकाशित गरेका छन् ।

गोरखापत्रले आज ईपीजी बैठकले गरेका निर्णय र छलफलको विषयलाई मुख्य समाचार बनाएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको तयारीलाई पनि गोरखापत्रले लेखेको छ । त्यस्तै निर्वाचन सफल बनाउन सबैमा निर्वाचन आयोगले गरेको आग्रहलाई पनि गोरखापत्रले लेखेको छ । राष्ट्रपतिको उम्मेदवारीमा धरौटी व्यवस्था हट्योलाई गोरखापत्रले एंकर बनाएको छ ।

‘न्यायाधीशको रिटले सर्वोच्चको इजलास प्रभावित’ शीर्षक दिएर मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले सरकाले नै बनाइदिएको बाटोबाट तीन साताअघि बर्खास्त भएका गोपाल खड्का फिर्ता भएको लेखेको छ । सर्वोच्चका न्यायाधीशहरुको कुण्डली नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । वाम गठबन्धनको सिट भागबन्डा प्रस्तावदेखि गोविन्द केसीको अनशनसम्मका विषयलाई नयाँ पत्रिकाले आज समेटेको छ ।

कांग्रेसमा तालमेलको सकस परेको कान्तिपुर दैनिकले जनाएको छ । कान्तिपुर दैनिकका अनुसार राजपा र फोरमले २ नम्बर प्रदेशमा धेरै सिट संख्या मागेपछि कांग्रेस झस्किएको छ । सन् १९५० को सन्धि फेरिनेलाई पनि कान्तिपुरले लेखेको छ ।
वाम एकतालाई बदानाम गर्ने कांग्रेस रणनीतिलाई मुख्य समाचार बनाएको अन्नपूर्णले ईपीजी बैठकको निष्कर्षलाई पनि महत्त्वका साथ पहिलो पृष्ठमा छापेको छ ।

नागरिक दैनिकले लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र भएको लेखेको छ भने राजधानी दैनिकले भावी नेपालको खाका कोर्दै वाम गठबन्धन शीर्षक दिएर मुख्य समाचार लेखेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*