आयल निगमको जग्गा खरीदबारे अापूर्ति मन्त्रीको बोली फेरियो

प्रधानमन्त्रीकै निर्देशन अवज्ञा, अनियमितता छानविन भएन

२१ भदौ, काठमाडौं । जतिबेला माओवादी केन्द्रका सांसद शिवकुमार मण्डल अापूर्तिमन्त्री बने, आयल निगमको जग्गा खरिदमा अनियमिता भएका खबरहरु लगातार आइरहेका थिए ।

मन्त्री मण्डललाई के चाहियो, मैले छानविन गर्न भनिसकेको छु, अनियमिता भएको पाइए कारबाही गरी छाड्ने भन्दै दिनदिनै भाषण गर्दै हिँडे । कतिसम्म भने बरु मन्त्री पद छाड्न तयार छु तर, अनियमितता गर्नेलाई कुनै हालतमा छाडि्दँनसम्म भन्न भ्याए उनले ।

 

तर, मन्त्री बनेको महिना दिन बित्दा नबित्दै मण्डलले आयल निगमको अनियमितता बिर्सिएका मात्र होइनन्, जग्गा खरिदमा भएको अनियमितताबारे छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको निर्देशनलाई समेत अटेर गरेको खुलेको छ ।

प्रधानमन्त्री कार्यालयले २१ साउनमा नै १५ दिनभित्र छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । तर, एक महिना बित्न लाग्दा पनि मन्त्रालयले छानविन गरेको छैन ।

मन्त्रीले आलटाल गरेसँगै प्रधानमन्त्री कार्यालयले दुई दिनअघि पत्रै काटेर छानविन अघि बढाउन पुनः निर्देशन दिएको छ । पत्रमा तीन दिनभित्र छानविन प्रतिवेदन पेश गर्न भनिएको छ । त्यसअनुसार मन्त्रालयले आज बुधबार प्रतिवेदन बुझाउनुपर्ने हो तर, अहिलेसम्म छानविन नै भएको छैन ।

‘मन्त्रीज्यू नै छानविन अघि बढाउन अनिच्छुक देखिनुभएको छ’ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने ।
पछिल्लो समयमा मन्त्री मण्डलले निगमको जग्गा खरिद प्रक्रिया मिलाएर भएको बताउन थालेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले भने पटक-पटक भन्दा पनि मन्त्रालयले छानविन नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

‘प्रधानमन्त्रीज्यूले नै छानविन गर्नुभएको छ । यदि मन्त्रालयले गरेन भने मन्त्रिपरिषदबाट छानविन समिति बनाउँछौं र आरोपित निगमका पदाधिकारीहरुलाई निलम्बन गर्छौं’ स्रोतले भनेको छ ।

आपूर्तिमन्त्री मण्डल भने आफूले छानविन अघि बढाउन अनिच्छा देखाएको भन्न नमिल्ने दाबी गर्छन् । ‘हामी प्रक्रियामै छौं’ मण्डलले भने, ‘धेरै हतार गरेर भोलि नहुने कुरा पनि गर्नुभएन ।’

यो बीचमा आयल नियमको सञ्चालक समिति बैठक बस्न नसकेको र मन्त्रालयको सचिव, जो सञ्चालक समितिको अध्यक्ष हुन्छन्, उनी पनि परिर्वतन भएकाले छानविनअघि नबढेको उनले बताए ।

‘यो बीचमा म जिल्लातिर पनि गएँ । यता समय दिन नसक्नु कमजोरी भएकै हो’ माओवादी नेता समेत रहेका मन्त्री मण्डलले भने, छानविनले दोषी देखाउँदा पनि कारबाही गरेन भने मलाई जे आरोप लगाउनुहुन्छ, स्वीकार गर्छु । तर, अहिले नै छानविन अघि बढाउन अनिच्छा देखायो भन्न मिल्दैन ।’

संसदको लेखा समितिले अनियमिता छ भने पनि अर्थसमितिले अझै छानविन गरिरहेकाले हतार गर्न नहुने उनले बताए ।

मोरङका सांसद रहेका माओवादी नेता मण्डल आर्थिक विषयमा बिराटनगरमा खासै स्वच्छ नेतामा दरिँदैनन् । त्यहाँ व्यापारीहरुसँग अनुचित साँठगाँठ गर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*